नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई ब्याग वितरण
बनेपा – नेपाल एसबिआई बैंक लि. द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाको बनेपा नगरपालिका-६, बुडोलमा रहेको भक्तेश्वर गोसाइँकुण्ड माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई २५० थान ब्याग प्रदान गरेको छ ।
बनेपा नगरपालिका वडा नं-६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सचितानन्द केसीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल एसबिआई बैंक बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्य, सहायक प्रदेश प्रमुख सुनिता गिरी, बनेपा शाखा प्रमुख भुपेन्द्र मान श्रेष्ठ, ऋण अधिकृत सुदिप अधिकारीको उपस्थिति रहेको थियो।
नेपाल एसबिआइ बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्यले र कर्मचारीहरुको उपस्थितिमा वि.ब्य.समितिका अध्यक्ष केसी र प्रधानाध्यापक दामोदर गौतमलार्ई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
विव्यस अध्यक्ष केसीले नेपाल एसबिआइ बैंकले शिक्षा क्षेत्रमा गरेको सहयोगले भुई तहबाट आएका विद्यार्थीलाई राहत हुने र उर्जा प्रदान गर्ने बताउँदै धन्यवाद प्रदान गर्नुभयो।
बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै नेपाल एसबिआई बैंक बागमती प्रदेश प्रमुख प्रविणमुनि बज्राचार्यले बैंकिङ कार्यक्रम अन्तर्गत बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि जानकारी दिनुभयो ।
हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
विद्यालयमा सघन अनुगमन सम्पन्न
आज मिति २०८१ साल फागुन ६ गते मंगलबारका दिन यस बनेपा नगरपालिका वडा नम्बर ६ बुडाेलस्थित श्री भक्तेश्वर गोसाइकुण्ड माध्यामिक विद्यालयमा बनेपा नगरपालिकाद्वारा सघन अनुगमन गरिएकाेछ । बनेपा नगर उपप्रमुख विमला सापकाेटा दाहालज्यूकाे नेतृत्वमा बनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख देवेन्द्र निराैला, शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, नगर शिक्षा समितिका सदस्य द्वय माधव लामिछाने र बबबबबबबबज्यूकाे टाेलिले विद्यालयकाे वर्तमान अवस्थाकाे निरीक्षण तथा अवलाेकन गरी विद्यालयका सबल तथा सुधारात्मक पक्षहरूकाे बारेमा टिपाेट गर्नुभएकाे थियाे ।
विद्यालय स्तर एकिकृत शैक्षिक सूचना प्रणालीमा रेकर्ड भएका यस शैक्षिक सत्र २०८१ का कूल ३७२ जना विद्यार्थीमध्ये आज उपस्थित करिब ३०० जना विद्यार्थीहरूकाे पठनपाठनका क्रममा आइपरेका समस्या तथा तीनका समाधान र गुणास्तरीय शिक्षामा विद्यार्थीहरूकाे पहुँच सम्बन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा यसै बनेपा नगरपालिका वडा नंं. ६ का वडा अध्यक्ष श्री सचितानन्द के.सी.ज्यूकाे सभापितत्वमा एक अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि सञ्चालन भएकाे थियाे । बाल क्लव र इकाे क्लवका पदाधिकारी विद्यार्थी भाइबहिनीहरूकाे समेत उपस्थिति रहेकाे उक्त कार्यक्रममा विद्यालयका प्रायः सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू, शिक्षक अभिभावक संघका अध्यक्ष र समिति सदस्यहरू, वडा नं. ६ का वडा सदस्य तथा वि.व्य.स. सदस्य लालकृष्ण तिमल्सिना लगायत अन्य वि.व्य.स. का सदस्यहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा क्रमशः क्लवका पदाधिकारी प्रतिनिधि विद्यार्थीहरू, विद्यालयका शिक्षकहरू, वि.व्य.स. तथा शि.अ.सं. का पदाधिकारी प्रतिनिधिज्यूहरू, विद्यालयका प्रधानाध्यापकज्यूहरूले हाल विद्यालयमा भएका गतिविधिहरू, विद्यालयले भाेग्नुपरेका समस्याहरू, साे समस्याकाे समाधान र गुणस्तरीय शिक्षा प्राप्तिका लागि बनेपा नगरपालिकासँग राखिएका अपेक्षाहरूका बारेमा आ–आफ्ना धारणाहरू राख्नुभएकाे थियाे ।
कार्यक्रममा अनुगमन टाेलिका तर्फबाट बाेल्दै नगर शिक्षा समितिका सदस्य माधव लामिछानेज्यूले विद्यालयका सबल पक्षहरूकाे चर्चा गर्दै विद्यालयले हाल भाैतिक निर्माणकाे क्रममा पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयकाे समग्र पक्षमा उत्तिकै ध्यान दिन सकेकाेमा वधाइका साथमा धन्यवाद व्यक्त गर्नुभएकाे थियाे भने साेहि क्रममा बाेल्दै शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीज्यूले विद्यालय हालै माध्यमिक तह स्विकृति पाइ अगाडि बढिरहेकाे सन्दर्भमा शिक्षाका बहुआयामिक पक्षहरूलाइ समेटेर पढाइकाे गुणस्तर कायम गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिँदै विद्यालय वातावरण सुरक्षित राख्न, विद्यालयमा गुनासाे सुनुवाइ तथा सूचना एवं सम्पर्क व्यक्तिकाे व्यवस्था गर्न तथा विद्यालयका आर्थिक लगायतका गतिविधिहरूलाइ पारदर्शि राख्नका लागि डिस्प्ले बाेर्डकाे व्यवस्था गर्न समेत सुझाव दिनुभएकाे थियाे ।
त्यस्तै कार्यक्रममा प्रमुख वक्ताकाे रूपमा बाेल्नुहुँदै शिक्षा शाखा प्रमुख श्री देवराज निराैलाज्यूले विद्यालयले पूरा गर्न बाँकी एकाध कार्यहरू बाहेक अन्य सम्पूर्ण पक्षहरू उत्कृष्ट रहेकाे, विद्यालयकाे बढ्दाे विकाससँगै अन्य आवश्यक पक्षहरू विस्तारै समेटिँदै जाने वचनवद्धता व्यक्त गर्नु भयाे । विशेषतः विद्यालयकाे लेखा प्रणालीलाइ चुस्त राख्न आगामि शैक्षिक सत्रकाे सुरुवातबाटै एक लेखा हेर्ने विद्यालय कर्मचारीकाे दरबन्दी प्रदान गर्ने कुराकाे जानकारी दिनुभयाे भने हालै मात्र माध्यमिक तह स्विकृत भएकाे यस विद्यालयलाइ आगामि आ.व.बाट संघिय काेटामा मा.वि. दरबन्दीका विषयगगत शिक्षककाे व्यवस्था गर्न पहल गर्ने जानकारी समेत दिनुभएकाे थियाे । साथै उहाँले विद्यालयले न.पा.बाट दिवा खाजाका लागि थप गरिएकाे रू.५ बाट १० कक्षासम्मका विद्यार्थीहरूका लागि दिवाखाजाकाे व्यवस्था गरिएकाे र विद्यालयले हालैमात्र आफ्नै Website निर्माण गरेकाेमा सह्राना गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्नुहुँदै नगर उपप्रमुख विमला सापकाेटा दाहालले सरकारी सामुदायिक विद्यालयले पनि चाह्याे भने उचित व्यवस्थापन गरेर प्राइभेट बाेर्डिङ स्कुलले भन्दा राम्राे नतिजा ल्याउन सक्ने भन्दै निकट भविष्यमा आउन लागेकाे आधारभूत तह कक्षा ८ काे परीक्षामा अब्बल नतिजा ल्याउन हाैसला प्रदान गर्नुभयाे ।
अन्त्यमा कार्यक्रमकाे सभापतित्व गर्नुभएका वि.व्य.स. अध्यक्ष तथा यसै वडाका वडा अध्यक्ष श्री सचितानन्द के.सी.ज्यूले विद्यालयकाे वर्तमान अवस्थाकाे जानकारी अवगत गराउँदै आगामि दिनहरूमा विद्यालय, वडा, तथा न.पा.ले विद्यालय विकासकाे कार्यमा आ–आफ्नाे ठाउँबाट निभाउनु पर्ने भूमिकाका बारेमा चर्चा गर्नुभयाे । वडा कै धराेहरकाे रूपमा रहेकाे एकमात्र सरकारी सामुदायिक विद्यालयलाई नमूनाकाे रूपमा अगाडि बढाउन सम्पूर्ण सराेकारवालाहरूसँग हातेमालाे गर्दै अगाडि बढ्ने समेत बताउनुभयाे ।
एसियन सभात च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्णसहित २२ पदक
काठमाडौं । भारतको दिल्लीस्थित तालकटोरा स्टेडियममा फेब्रुअरी ९ देखि १२ सम्म आयोजना भएको छैटाैं एसियन सभात प्रतियोगितामा नेपालले ४ स्वर्ण, ४ रजत र १४ कास्य गरी कुल २२ पदक जितेको छ ।
प्रतियोगितामा एसियाली राष्ट्रहरु नेपाल, इरान, उज्बेकिस्तान, चाइनिज ताइपेई, बंगलादेश, भारतलगायत देशका खेलाडीहरूले विभिन्न उमेर समूहमा असट् (लाइट कनट्याक्ट) तर्फ र कम्ब्याट (फुल कनट्याक्ट) तर्फ प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामा लाइट कन्ट्याक्ट महिला तर्फ १२ वर्षमुनि -३३ केजिमा नेपालकी आयुशा मगरले रजत पदक जितिन् । उनले क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा भारतकी खेलाडीलाई पराजित गरेकी थिईन्। तर फाइनलमा भारतकै खेलाडीसँग पराजित भइन् ।
-४३ केजीमा नेपालकी हिमांशी दुलाल क्वार्टरमा भारतकी करूना कुमारी , सेमीमा उज्बेकिस्तानकी सोलिहा र फाइनल खेलमा नेपालकी अनीशा भण्डारी लाई पराजित गरी स्वर्ण पदक जितिन् । सोही तौल समुहमा अनिशा भण्डारीले रजत जितिन् । उनले बांगलादेश र भारतकी खेलाडीलाई पराजित गरेकी थिइन् ।
सिनीयर -५२ केजीमा आरती सिंखवालले सेमीमा र फाइनलमा भारतकै खेलाडीलाई पराजित गरी स्वर्ण पदक जितिन् । सोही समूहको कम्ब्याटमा भने सेमिफाइनलमा उज्बेकस्तानकी खेलाडीसँग पराजित भई कास्य पदकमा चित्त बुझाइन् ।
-५६ केजीमा सुष्मा घ्याबाले कास्य प्राप्त गरिन् । उनी लाइट कन्ट्याक्टमा सेमिफाइनलमा भारतकी खेलाडीसँग पराजित भइन् ।
पुरुष १२ वर्षमुनि -३२ केजीमा बसन्त तामाङले कास्य जिते । क्वाटरफाइनलमा उज्वेकिस्तानको नूरालिवलाई पराजित गरेका उनी सेमिफाइनलमा उज्बेकिस्तानकै खेलाडीसँग पराजित भए ।
-४० केजिमा सुभम खत्रीले कास्य जिते । उनले क्वाटरफाइनलमा भारतका शेख माहिरलाई पराजित गरे भने सेमिफाइनलमा भारतकै खेलाडीसँग पराजित भए । सोही तौल समूहमा नेपालकै विश्वास भट्टराईले क्वार्टरमा भारतका हर्षलाई पराजित गरी सेमीमा नेपालकै सुन्दर पाण्डेसँग पराजित भएका थिए भने सुन्दरले सोही समूहमा भारतलाई फाइनलमा पछि पार्दै स्वर्ण पदक जितेका थिए ।
-५६ केजिमा प्रशान्त बुढा मगरले क्वाटरफाइनलमा भारतका उत्कर्ष कालोखेलाई हराएका थिए तर सेमीमा उज्बेकिस्तानका सगीदुल्लाभसँग पराजित भई कास्यमा चित्त बुझाए । -६० केजिमा बिनय थापाले रजत जिते ।
१७ वर्षमुनि -५२ केजिमा जयराम बिकले कास्य जिते । -८५ केजिमा बसील त्वयनाले स्वर्ण पदक जिते । कम्ब्याट -६० केजिमा प्रभु राम खत्रीले रजत जिते भने कम्ब्याट तर्फनै सिनियर-५६ केजीमा सूरज कार्कीले कास्ष जित्दा -६० केजीमा मनील श्रेष्ठले कास्य जिते ।
-७० केजिमा आस्तिक नकर्मीले कास्य जिते। कम्ब्याटतर्फ -६५ केजीमा शान्त कुमार राना मगरले कास्य जित्दा असट लाइटतर्फ क्वाटरफाइनलमा भारतका अक्षय कुमार लाई पराजित गरी चाइनिज ताईपेई का लिन झे वाई सँग पराजित भई दोहोरो कास्य पदक जितेका छन् ।
सिनियर -७५ केजीमा सस्मन बस्नेतले लाइट असटमा काश्य र कम्ब्याट मा पनि कास्य पदक जिते । उनले असटतर्फ क्वाटरफाइनलमा भारतका जगजीत सिंहलाई पराजित गरी उज्बेकिस्तानका यूलचीबोयबसँग पराजित भएका थिए भने कम्ब्याट प्रतिस्पर्धामा पनि सेमिफाइनलमा उनैसँग पराजित भएका थिए ।
प्रतियोगितामा नेपालकी सस्मिनी बस्नेतले अम्पायरको भूमिका उत्कृष्ट रूपमा निर्वाह गरेकी थिईन् भने व्यवस्थापकमा पिताम्बर गौतम, राहुल पटेल, अनिल धुंजू श्रेष्ठ र फणिन्द्र प्रसाद जंगम रहेका थिए ।
नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको भन्दै गर्व लागेको बताए । साथै उनले आगामी प्रतियोगिताहरुमा अझै उत्कृष्ट प्रदर्शन गरी देशको नाम उच्च बनाउनेमा विश्वास व्यक्त गरे ।
पदक जित्ने खेलाडीहरूलाई नेपालले पनि उचित सम्मान गर्नुपर्ने र नेपालका विभिन्न विद्यालय, कलेजहरुमा अध्ययनरत पदक जित्ने खेलाडीहरुलाई उक्त विद्यालय तथा कलेजहरूले कम्तीमा मासिक तथा वार्षिक शुल्कमा छुट गरेका खेलाडी तथा अभिभावकहरुलाई हौसला हुने बताए ।
एसियन सभात वार्षिक बैठकबाट सातौं एसियन सभात प्रतियोगिता सन् २०२६ मा नेपालमा आयोजना गर्नको लागि पारित भएकोमा नेपालकै लागी अवसर र गर्वको विषय भएको अध्यक्ष बस्नेतले बताए ।
नेपालमा सन् २०२३ मा भित्रिएको यस फ्रेन्च मार्शल आर्ट्सले सन् २०२३ मा उज्बेकिस्तानमा आयोजना भएको चौथो एसियन सभात प्रतियोगितामा नेपालका लागि सस्मन बस्नेतले कास्य पदक जितेका थिए भने सन् २०२४ मा भारतमा आयोजना भएको दक्षिण एसियाली खेलमा नेपालले १० स्वर्ण ८ रजत र ९ कास्य जितेको थियो ।
विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम सञ्चालन
यस विद्यालयमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको सहकार्यमा सञ्चालित विद्यालयमा वृत्त–मार्गनिर्देशन कार्यक्रमकाे दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिदैछ ।
मिति २०८१ साल फागुन ९ गते अभिभावकीय सत्रबाट शुरू भएकाे याे कार्यक्रम आगामि फागुन १६ गते शुक्रबारसम्म सञ्चालन हुनेछ ।
यस कार्यक्रमले दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना (Enssure) मार्फत विद्यालय तहमा कक्षा ९ र कक्षा १० का विद्यार्थी भाइबहिनीहरुलाई आगामि दिनहरुमा कुन वृत्ति मार्गमा अगाडि बढ्ने भन्ने बारेमा मार्ग निर्देशन गर्नेछ ।
साथै वृत्ति विकास सम्बन्धी आधारभूत जानकारी प्रदान गर्दै यस वर्ष कक्षा ९ मा अध्ययनरत ४ जना छात्र र ११ जना छात्रा गरि कूल १५ जना छात्रछात्राहरुलाई विभिन्न किसिमका पेशाहरु तथा वृत्ति सम्बन्धि जानकारीका साथै आवश्यक मार्गनिर्देशन सेवा प्रदान गर्नेछ । भविष्यमा अङ्गाल्ने वृत्ति र यसको वृत्ति पथ सम्बन्धि सूचना तथाजानकारीको विश्लेषण गर्दै आफ्ना्े खुवी र रुची सुहाउँदो वृत्ति छनौट गर्ने प्रक्रिया बुझ्ने र वृत्ति छनौट गर्न सक्षम बनाइनेछ ।
कार्यक्रम यसै विद्यालयबाट सो सम्बन्धमा तालिम प्राप्त गर्नुभएका वृत्ति–मार्गनिर्देशन शिक्षकद्वय श्री दिपेश्वरा दाहाल र श्री गंगाराम ठकुरीले सञ्चालन गर्नुहुनेछ । साथै कार्यक्रम प्रधानाध्यापक श्री दामोदर गौतमको अनुगमनमा सञ्चालन भइरहेकोछ ।
